मंगलवार, चैत्र २५, २०७६
    राज्य-समाज

    एमाले नेता राईको राजनीतिक यात्रा : कान्छो सांसददेखि मुख्यमन्त्रीसम्म

    बिहिवार, ३ फागुन २०७४, सुमन घिमिरे .
    फाइल तस्वीर : प्रदेश नं १ का नव नियुक्त मुख्य मन्त्री शेर धन राई

    उर्लाबारी, मोरङ, २ फागुन । 

    विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मिएका  शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा वुधबार  नियुक्त भए  । 

    प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । राई एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्  । 

    विसं २०४४ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका  राई विसं २०५६ सालको आम चुनावमा भोजपुर क्षेत्र नं २ बाट कान्छो सांसदका रुपमा विजयी भएका थिए  । विसं २०४९-५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष, २०५० र २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य-पूर्वाञ्चल प्रमुख बनेका राईले २०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए  । 

    विसं २०४९ मा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ सालमा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव हुँदै २०५४ सालमा पार्टी विभाजन भएपछि सचिव हुँदै २०५४ सालदेखि २०७० सालसम्म गरी चार कार्यकाल उनी एमालेको जिल्ला अध्यक्ष बनेका थिए । विसं २०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका राई २०७१ सालमा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हुँदै हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ को सहइञ्चार्ज रहेका छन्  । 

    विसं २०५६ को आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट १८ हजार ४४७ मत प्राप्त गर्दै २७ वर्षको उमेरमा राईले संसद्मा सबैभन्दा कान्छो सांसद्को रुपमा प्रतिनिधित्व गरेका थिए  । विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट पराजित भएका राई २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नं २ बाट ११ हजार ९२७ मत ल्याएर निर्वाचित  भएका थिए  । विसं २०७१ मा तत्कालीन व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको सभापति भएका राई विसं २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता बनेका थिए । 

    गत मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुर (ख) बाट २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित भएका राई गत माघ २६ गते प्रदेश नं १ को एमाले संसदीय दलको नेता बनेका थिए  । मुख्यमन्त्रीमा नियुक्त भएसँगै रासससँग कुरा गर्दै राईले प्रदेश नं १ मा भएका स्रोत र साधनलाई उपयोग गर्दै देशकै समृद्ध प्रदेश निर्माण गर्ने अठोट व्यक्त गरे  । 
     

    मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने
     

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्  । 

    आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए  । 

    राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्  । मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्  । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख तुम्बाहाङले शपथग्रहण गराउनेछन्  । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast