शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    क्रिकेट

    म्याक्सवेलको अलराउण्ड प्रदर्शन, अष्ट्रेलियाको इंग्ल्याण्डमाथी ५ विकेटको जित

    म्यान अफ द म्याच घोषित माक्सवेलले ४ छक्का र १० चौका हिर्काए ।

    बिहिवार, २५ माघ २०७४, आहाखबर

     

    ग्लेन म्याक्सवेलको शानदार अलराउण्ड प्रदर्शनको मदतमा अष्ट्रेलियाले त्रिदेशीय सिरिज अन्तरगत इंग्ल्याण्डमाथि ५ विकेटको जित हात पारेको छ । त्रिकोकाणत्मक टी–२० शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य अस्ट्रेलियाले मात्र १८.३ ओभरमा सफलतापूर्वक पछ्यायो । शृंखलामा अस्ट्रेलियाको यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डमाथि जित हात पारेको थियो ।

    खेलमा अस्ट्रेलियाका लागि फेरि पनि ग्लेन म्याक्सवेल नायक बने । अन्य ब्याटसम्यान लगातार आउट भइरहँदा उनले शतक बनाउँदै टोलीलाई जित दिलाए । अस्ट्रेलियाले बनाएको १६१ रन मध्ये उनले एक्लै १०३ रन बनाए ।  २ ओभरमा १० रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका उनले शानदार शतक पनि पुरा गरे । खेलको १३ औँ ओभरमा उनले जीवनदान पाएका थिए । रसिद अलिको बलमा जेसन रोयले उनको क्याच लिए पनि अम्पायरले बल पहिले ग्राउन्डमा ठोक्किएको निर्णय सुनाएका थिए । १५६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया सुरुमा नै दबावमा आएको थियो । डेभिड वार्नर ४ र क्रिस लायन शुन्यमै आउट हुँदा टिमको स्कोर मात्र ४ रन थियो । तर, माक्सवेलले अविजित १०३ रनको पारी खेल्दै जित खिलाए । उनले तेस्रो विकेटका लागि डासी सर्टसँग ७८ रनको साझेदारी गरे । सर्ट ३० रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेपनि माक्सवेलले आक्रमक पारी खेल्दै १८.३ ओभरमा ५ विकेट गुमाएर जित दिलाए । डेभिड वेलीले ३ विकेट लिए । म्यान अफ द म्याच घोषित माक्सवेलले  ४ छक्का र १० चौका हिर्काए । 

    यसअघि पहिले ब्याटिङ गरेको इंल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । खेलमा टस जितेर अस्ट्रेलियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । तर, शुरुवातमा अस्ट्रेलियाले गलत निर्णय लिएको देखिएको थियो । इंग्ल्याण्डले विस्फोटक शुरुवात गरेको थियो । एलेक्स हेल्स र डेविड मलानले छैटौँ ओभरमा नै इंग्ल्याण्डको स्कोर ६० रन पुर्याएका थिए । हेल्सले २२ तथा मलानले ५० रनको योगदान दिए । त्यसपछि कप्तान इयोन मोर्गनले २२ रन बनाउँदै खेलमा इंग्ल्याण्डलाई जीवित राख्ने प्रयास गरे पनि अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् । कुनै समय २ सय भन्दा बढी रन बनाउने अपेक्षा गरिएको इंग्ल्याण्ड अन्ततः मात्र १ सय ५५ रनमा सिमित बनेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast