शुक्रबार, जेष्ठ २३, २०७७
    धर्म-संस्कृति

    जैसी देवल

    काठमाडौंको बसन्तपुर दरबार क्षेत्र स्थित 'जैसी देवल' को ऐतिहासिकता

    जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले यो देवललाई 'जैसीदेवल' नामाकरण गरिएको स्थानीयहरुको भनाइ

    बिहिवार, २५ माघ २०७४, आहाखबर

    काठमाडौँ माघ, २५ । 

    जैसी देवल नेपाल संवत् ७०४ मा कान्तिपुर राज्यका बडाहाकिम लक्ष्मीनारायण जोशीले निर्माण गरेका हुन्  । जोशी देवल हुँदै कालान्तरमा अपभ्रंश भई जैसीदेवल नाम रहन गएको भनाइ छ । 

    ककनी, रानीपौवा, जीतपुरफेदी, दगुर्नेपानीदेखिका जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले पनि यो देवललाई जैसीदेवल नामाकरण गरिएको भनाइ पनि छ । 

    विसं १९८९ मा देवशम्शेरले देवलको जीर्णोद्धार गरेपछि यसलाई देवजागेश्वर महादेव पनि भन्न थालिएको स्थानीयवासी ८६ वर्षीय वृद्ध शंकरमान रञ्जितकारले जानकारी दिए। त्यसअघि देवलमा स्थापना गरिएका महादेवलाई जागेश्वर महादेव भनिन्थ्यो । 

    विसं २०१५ मा अञ्चलाधीश विष्णुमणि आचार्यको नेतृत्वमा स्थानीयवासीले फेरि देवलको जीर्णोद्धार गरे । त्यतिबेला जीर्णोद्धारको काममा संलग्न हुनेलाई अञ्चलाधीश कार्यालयले ज्यालास्वरुप गहुँ दिएको उनको स्मरणमा ताजा छ । 

    जीर्णोद्धारपछि त्यसै वर्ष तत्कालीन महारानी रत्न राज्यलक्ष्मीले तीन हजार लिटर पानी अट्ने सिमेन्टको पानी ट्यांकी बनाइदिएकी थिइन्  । २०४५ सालको भूकम्पले चर्किएको देवल २०६३ सम्म बन्न नसकेपछि स्थानीयवासीको सक्रियतामा विभाग र काठमाडौँ महानगरपालिकाको सक्रियतामा रु २८ लाखको लागतमा जीर्णोद्धार गरियो । 

    त्यसबेला बचेको पैसाले नजिकैको कृष्णमन्दिर पनि जीर्णोद्धार गरिएको पूर्ववडा अध्यक्ष तण्डुकारले सुनाए । रातो मच्छेन्द्रनाथ राख्ने उद्देश्यले निर्माण गरिएको देवलमा पछि नराखिएको जैसीदेवल युथ क्लबका सदस्य राजेन्द्र मानन्धरले बताए  । 

    भक्तपुरको पाँचतले मन्दिर पनि रातो मच्छेन्द्रनाथ राख्नकै लागि बनाइएकोमा पछि पाटनमा राखिएको स्थानीयवासीको भनाइ छ । रातो मच्छेन्द्रनाथ पाटनमा राखिएपछि यो ठाउँ जोशी एवम् जैसी देवलकै रुपमा प्रसिद्ध भयो । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast