शनिबार, श्रावन ४, २०७६
    धर्म-संस्कृति

    हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र ‘मदारबाबा मेला’ शुरु

    मेलामा नेपालका साथै भारतका दिल्ली, मुम्बई, बिहार, बंगाललगायत विभिन्न स्थानबाट १० लाखभन्दा बढी भक्तजन आउने अनुमान

    मंगलवार, २३ माघ २०७४, आहाखबर

    नवलपरासी, २३ माघ ।
    हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र ‘मदारबाबा मेला’ शुरु भएको छ । मराजको मुख्य समाधिस्थल (पूजास्थल ) मा मुख्य पीठाधीश अमिरुल्ला अन्सारी सोमबार नै पुगेपछि मेला शुरु भएको हो । 

    मदारबाबाको मेला लाग्ने स्थल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुस्ता गाउँपालिका – २ महलबारीबाट ९ किमी पहाडी क्षेत्रमा पर्छ । मदारबाबाको मराजमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । 

    महलबारी गाउँबाट निकै कठिनाइपूर्वक ९ किमी पहाडीयात्रा गरेर बाबाको समाधिस्थल जानुपर्छ । मेलामा नेपालका साथै भारतका दिल्ली, मुम्बई, बिहार, बंगाललगायत विभिन्न स्थानबाट १० लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । 

    मेला ३५÷३६ वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मेला आगामी फागुन १ गतेसम्म चल्ने छ । मेलामा आउने भक्तजनको सुविधा र व्यवस्थापनका लागि स्थानीय कुतबुल मदारशाह दरगाह समितिले काम गरेको समितिका सचिव अजमुद्दिन मियांले जानकारी दिए । 
    मेला मुसलमान मान्यतानुसार महान्ऋषि बदिउद्दिन शाहको ६०१औं वार्षिकीका रूपमा मनाइँदै छ । विकट पहाडमा पूजापाठ गर्न आउने भक्तजनले भाकल गरेको पुग्ने विश्वास छ । 
    सन्तान नहुने दम्पतीले सन्तान पाउने, दीर्घरोगी निको हुनेलगायत मान्यता र विश्वास भएकै कारण मेलामा आउने भक्तजनको संख्या दिनानुदिन बढ्दै गएको पीठाधीश बाबा अमिरुल्लाह अन्सारीको भनाइ छ । 

    श्रद्धाको यस केन्द्रमा चार महत्वपूर्णस्थान छन् । महलबारीमा मस्जिद तथा गुद्दरबाबा, चावलधोइ र उच्च पहाडमा मदारबाबास्थान छन् ।। यसै स्थानमा पुग्न सक्नुलाई सुखको मुहान खुल्नुसरह मानिन्छ । मुख्य केन्द्रका रूपमा रहेको यस स्थानमा बाबा आसीन हुने र त्यहाँ पुग्ने भक्तजन बाबाको आशिष लिई फर्कन्छन् । 

    ऐतिहासिक मेलामा हिन्दू र मुसलमान दुवै धर्मका व्यक्ति श्रद्धाका साथ जाने गर्छन् । हिन्दू मुसलमान दुवै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ आउने समितिका कोषाध्यक्ष रियाजुलहक अन्सारीले बताए । 

    मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत आवश्यक सबै तयारी मिलाइएको समितिका अध्यक्ष निजामुद्दिन मियाँको भनाइ छ । 

    आजभन्दा ६०१ वर्ष पहिले यहाँ मुसलमान समुदायका धर्मगुरुले यस क्षेत्रमा समाधिस्थल बनाई पूजाआजा गरेकामा बाबा मरेपछि पछिल्लो ३०÷३५ वर्ष अघिदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लागेको मेलाका वर्तमान पीठाधीश अन्सारीको भनाई छ । रासस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast