शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तान २ सय २ रनले पराजित, भारत फाइनलमा

    भारत र अष्ट्रेलियाबीचको फाइनल आगामी शनिबार हुँदै, तेस्रो स्थानका लागि पाकिस्तानले अफगानिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्ने

    मंगलवार, १६ माघ २०७४, आहाखबर

    काठमाडौं, माघ १६ । 

    आफ्नो चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २ सय २ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
    यससँगै उपाधिका लागि अब विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया भिड्ने पक्का भएको छ । अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

    न्यूजील्याण्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । भारतका लागि शुभम गिलले १ सय २ रन बनाएका थिए । ९४ बल खेलेर उनले ७ चौका प्रहार गरेका थिए । 

    कप्तान पृथ्वी शले ४१ र मञ्जोत कालराले ४७ रन बनाएर भारतलाई राम्रो सुरुवात दिएका थिए । पाकिस्तानको ब्याटिङ इनिङ ध्वस्त पार्ने क्रममा भारतीय बलर इशान पोरेलले ४ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै मात्र १७ रन मात्रै खर्चिए । त्यस्तै भारतका शिव सिंह र रियान परागले समान २÷२ विकेट लिएका थिए ।


    २ सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९ दशमलव ३ ओभरमा ६९ रनमै समेटियो । पाकिस्तानका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाएकाथिए । रोहिल नाजिरले बनाएको १८ रन पाकिस्तानी ब्याट्सम्यानको सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो ।

    भारत र अष्ट्रेलियाबीचको फाइनल आगामी शनिबार हुनेछ भने पाकिस्तानले तेस्रो स्थानका लागि अफगानिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast