शुक्रबार, जेष्ठ २३, २०७७
    धर्म-संस्कृति

    काभ्रेपलान्चोकमा सांस्कृतिक पहिचानको 'पनौती सम्पदा'को संरक्षण शुरु

    अभियान मार्फत ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने

    आईतवार, १४ माघ २०७४, रासस /(आहाखबर).
    ऐतिहासिक पनौती क्षेत्र

    बनेपा, १४ माघ । 

    काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ । 

    पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सुदीप न्यौपानेले जानकारी दिए  । 

    उनले पदयात्रामा संलग्न सहभागीसँग रु ३०० संकलन हुने र त्यसबाट सहभागीलाई खाना, नास्ता व्यवस्थापन गरिने जानकारी दिए  । पनौती –४ स्थित पशुपति मन्दिर परिसरबाट शुरु भएको पदयात्रा गणेशस्थान मन्दिर परिसरमा समापन हुने छ । 

    पदयात्राका क्रममा योमरी स्तम्भ, गुप्तेश्वर मन्दिर, पनौती लायकू दरबार, त्रिवेणीघाट, फड्केश्वर मन्दिर, द्रौपदी मन्दिर, विष्णु मन्दिर, शान्ति संग्रहालय, ज्ञान विकास सामुदायिक पुस्तकालय र पनौती संग्रहालयसमेत अवलोकन हुने बताइएको छ । 

    पनौती शहरका विभिन्न स्थानबाट परम्परागत र लोपोन्मुख बाजागाजासहित शुरु हुने पदयात्राका सहभागीलाई खाजाका लागि योमरीको उद्गमस्थल मानिएको पनौतीमा योमरी र समयबजीको व्यवस्था गरिने आयोजकले जनाएको छ । कार्यक्रममा तस्वीर प्रदर्शनी र सांस्कृतिक झाँकीसमेत प्रस्तुत हुने बताइएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast