बुधबार, जेष्ठ २१, २०७७
    धर्म-संस्कृति

    धार्मिक आस्था र प्रेम

    कपिलवस्तुमा लोपोन्मुख धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

    मंगलवार, ९ माघ २०७४, चुरामणि अर्याल .

    जितपुर, कपिलवस्तु, ९ माघ । 

    राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ । 

    हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति तथा ऐतिहासिक पुस्तकको संरक्षण गर्दै आएको हो । 

    संघले आधुनिक सुविधासहितको पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीलाई केही सहुलियत भएको छ । विद्यालयमा विषयका सबै पुस्तक नभएमा विद्यार्थी सोही पुस्तकालयमा गई अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको राष्ट्रिय मदरसा संघका केन्द्रीय अध्यक्ष डा अब्दुल गनी अलकूफीले बताए। पुस्तकालयमा प्रिन्ट पुस्तकदेखि सिडी-डिभिडी तथा इन्टरनेट लाइब्रेरीको समेत सुविधा रहेको उनले बताए  । 

    धार्मिक पुस्तकालयमा उर्दू, अरबी भाषाका साथै नेपाली, अंग्रेजी, हिन्दीलगायतका भाषामा उल्था गरिएको इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान रहेको छ । मदरसामा अध्ययन अध्यापन गराइने विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न धर्म, संस्कृति, रीतिरिवाजका बारेमा लेखिएका ऐतिहासिक पुस्तक, नेपाली शब्दकोष, विभिन्न म्यागजिनलगायतका पाठ्यपुस्तक रहेका छन् । यसका साथै अन्य विभिन्न पठन सामग्री, अरबीभाषाका मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक पत्रिकाको समेत व्यवस्था छ । 

    पुस्तकालयमा उपलब्ध ऐतिहासिक र साहित्यिक एउटै किताबलाई १५ देखि २० युनिटका अलगअलग किताबसमेत रहेका छन् । पुस्तकालयमा झण्डै २५ हजार पुस्तक रहेको मदरसा संघका केन्द्रीय अध्यक्ष डा अब्दुल गनी अलकूफीको भनाइ छ । एउटै किताब १५ देखि २० हजार मूल्यका पाठ्यपुस्तसमेत पुस्तकालयमा उपलब्ध रहेको केन्द्रीय अध्यक्ष गनी अलकूफीले जानकारी दिए  । 

    जामिया सिराजुल उलूमले प्रदेश नं ५ मै उर्दू भाषामा ‘अल्सिराज’ नामको पहिलो मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । दशक अघिदेखि प्रकाशन गर्दै आए पनि हालै मात्र सञ्चालन गर्ने अस्थायी प्रमाणपत्र प्राप्त गर्न सफल भएको मदरसा संघका केन्द्रीय महासचिव एवं जामिया सिराजुल उलूम अलसल्फियाका प्रवक्ता मौलाना मसहूद खाँ ‘नेपाली’ले बताए  । 

    मौलाना ‘नेपाली’ का अनुसार पुस्तकालयमा मदरसा कोर्षबाहेक विभिन्न पुस्तकसमेतको व्यवस्था भएकाले विद्यार्थीका साथै विभिन्न व्यक्तित्वको समेत जमघट हुने गर्छ । पुस्तकालयमा आउने पाठक, विद्यार्थीका लागि फ्रि वाइफाइ, खाजा चियाको समेत व्यवस्था रहेको मौलाना ‘नेपाली’को भनाइ छ । पुस्तकालय सबैका लागि खुला रहेकोसमेत उनले बताए । उनले पुस्तकालयमा अध्ययन अध्यापनका लागि कुनै पनि शुल्क नलाग्नेसमेत जानकारी दिए  । 

    कपिलवस्तुको कृष्णनगर नगरपालिकाको–३, लक्ष्मीनगरस्थित नेपालकै जेठो मदरसा जामिया सिराजुल उलूम अलसल्फिया स्थापनाको ११० वर्ष पार गरिसकेको छ । 

    दुई हजारभन्दा बढी मुस्लिम विद्यार्थीले अध्ययन गर्दै आएको उक्त मदरसामा कोर्षका सबै पुस्तक छैनन् । यहाँका विद्यार्थी पनि विद्यालयमा नभएका विषयगत पुस्तकहरु त्यहाँ गएर अध्ययन गर्दै आएका छन् । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast