आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    प्रथम दीक्षान्त समारोह !

    शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति : प्रधानमन्त्री देउवा

    सुदूरपश्चिम विश्वविद्यालयद्वारा पहिलो मानार्थ विद्यावारिधिको उपाधि वरिष्ठ आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोख्रेललाई प्रदान, १ शय २० विद्यार्थी दीक्षित

    शनिबार, २९ पौष २०७४, आहाखबर
    प्रधानमन्त्री एवं सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयाजित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बरिष्ठ आँखा विशेषज्ञ डा.रामप्रसाद पोख्रेललाई मानार्थ विद्यावारिधी उपाधी प्रदान गर्दै । तस्बीर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

    भीमदत्तनगर, २९ पुस (रासस) :

    प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । 

    कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए । 

    उनले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने धारणा राखे । “शिक्षा राष्ट्रको पुँजी हो”, प्रधानमन्त्री देउवाले भने, “शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्नतिमा लाग्न सबैसँग आग्रह गर्दछु ।” 

    सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । 

    आफ्नै नेतृत्वको सरकारले गत असोजमा यहाँका थप १५ क्याम्पसलाई समायोजन गरी विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा विकास गरेको पनि बताए । 

    सो अवसरमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अंगका रुपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताउनुभयो । उनले आधुनिक युगमा शिक्षाको महत्वलाई दर्शाउन अन्य संघ/संस्था, अनुसन्धानमूलक निकायसँगको सहकार्य पनि जरुरी रहेको औँल्याए । 

    विसं २०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल तीन हजार ९०० विद्यार्थी अध्ययनरत छन् । शनिबार दीक्षान्तका लागि २८२ विद्यार्थी योग्य रहेपनि १२० दीक्षित भएका छन् । शनिबार विज्ञान, व्यवस्थापन, मानविकीलगायत पाँच संकायका विद्यार्थी दीक्षित भएका छन् । 

    मानार्थ विद्यावारिधि डा पोख्रेललाई 

    सुदूरपश्चिम विश्वविद्यालयले पहिलो मानार्थ विद्यावारिधिको उपाधि वरिष्ठ आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोख्रेललाई प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षान्त समारोहमा डा पोख्रेललाई उक्त उपाधि प्रदान गरेका हुन् । 

    उहाँलाई नेपालको आँखा उपचारको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएको भन्दै विश्वविद्यालयले उक्त उपाधि दिएको जनाएको छ । नेपाल नेत्र ज्योति संघका संरक्षक समेत रहेका डा पोख्रेल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं उपाधिबाट पनि सम्मानित भएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast