शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    एमाले अध्यक्ष ओली थाइल्याण्ड प्रस्थान, जाँदा-जाँदै भने- सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार

    नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक प्रस्थान, बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आगामी माघ २ गते स्वदेश फर्कने

    बुधबार, २६ पौष २०७४, रासस/ (आहा खबर) .
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर : प्रकाश सिलवाल, रासस

    काठमाडौँ, २६ पुस :

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताए । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गरे । 

    उनले भने, “नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो तर यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ ।” गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि समानुपातिकतर्फको परिणाम सार्वजनिक हुन बाँकी छ । 

    अध्यक्ष ओलीले संविधान कार्यान्वयन र जनताको हितका विषयमा संशोधन गर्नुपर्नेमा नकारात्मक व्याख्या गरेर लोकतन्त्रको गतिलाई अड्काउने काम भएको टिप्पणी गरे । 

    नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो तर यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ । हामीलाई नेताहरुको पदको व्यवस्थापनको चिन्ता छैन, जनताको सुख र समृद्धिको चिन्ता छ, म विदेशबाट फर्केपछि तीव्रताका साथ एकता प्रक्रिया अघि बढ्छ ।

    निर्वाचनबाट प्राप्त जनताको अभिमतको अवमूल्यन गरेर लोकतन्त्रअघि बढ्न नसक्ने बताउँदै उनले वर्तमान सरकारले सत्ता हस्तान्तरणसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नेजस्ता काम मात्र गर्न सक्ने उल्लेख गरे । 

    अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकता चाँडै हुने जनाउँदै एकता भाँड्न गरिएका सबै षड्यन्त्र असफल हुने दाबी गरे ।

    “हामीलाई नेताहरुको पदको व्यवस्थापनको चिन्ता छैन, जनताको सुख र समृद्धिको चिन्ता छ, म विदेशबाट फर्केपछि तीव्रताका साथ एकता प्रक्रिया अघि बढ्छ”, उनले भने । 

    अध्यक्ष ओली बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आगामी माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast