शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    दिन–प्रतिदिन बढेको जाडोले कठ्यांग्रिएर रौतहटमा पाँचजनाको मृत्यु

    एक साता देखिको बाक्लो कुहिरोसँगै चलेको शीतलहरका कारण जनजीवन प्रभावित, सामुदायिक विद्यालय थप चार दिन बन्द

    सोमबार, २४ पौष २०७४, रासस/ (आहा खबर) .

    रौतहट, पुस २४ । 
    दिन–प्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर अहिले सम्म पाँचजनाको मृत्यु भएको छ । आइतबारमात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नम्बर–९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसअघि, शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिम्नीभट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो ।
    मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

    चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्याधिक मात्रामा बढेको हो । जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म ९ स्थानमा दाउरा वितरण गरेको जनाएको छ ।

    शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।

    यसैबीच, शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालयले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शीतलहर कारण विद्यार्थीलाई विद्यालय आउन कठिन भएपछि आइतबारदेखि पुनः चार दिन बिदा थप गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए ।

    यसअघि, गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालय बन्द निर्णय भएको थियो । रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सन्चालित छन् ।

    यस्तै, निजी विद्यालयमा परीक्षा सन्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

    विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast