बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    पूर्वराजा शाह पुगे लखनउ, यूपीका मुख्यमन्त्री आदित्यनाथसँग भेट

    मुख्यमन्त्री आदित्यनाथद्वारा नेपालका पूर्वराजासँग आफूले औपचारिक भेट गरेको जानकारी, ज्ञानेन्द्र शाहलाई खादा ओढाएर सम्मान

    सोमबार, २४ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस २४ ।

    नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । गत एक सातादेखि पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार बिहान उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए । पूर्वराजा आफैं गाडी चलाएर लखनउ प्रस्थान गरेको पनि बताइएको छ । 

    पूर्वराजा शाह र मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनउमा रहेको मुख्यमन्त्रीको सरकारी कार्यालयमा भेटवार्ता भएको थियो । यसैबीच मुख्यमन्त्री आदित्यनाथले पनि नेपालका पूर्वराजासँग आफूले औपचारिक भेट गरेको जानकारी दिएका छन् । आदित्यनाथले पूर्वराजालाई खादा ओढाएर सम्मान समेत गरेका थिए । 

    भ्रमणका क्रममा ज्ञानेन्द्रका साथमा पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह, नाति हृदयन्द्र र नातिनी पूर्णिका रहेको बताइएको छ । यसअघि पूर्वयुवराज्ञी हिमानीको गत असोजमै उत्तर प्रदेशस्थित गोरखनाथ मन्दिरको दर्शन गर्ने र मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम तय थियो । 

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दु धर्मका कट्टर पक्षधरकारुपमा पुरै भारतभर नै चिनिन्छन् । वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत निकै नै निकटको सम्बन्ध रहेको योगीको यही छवीका कारण भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले उनलाई मुख्यमन्त्री बनाएको विश्लेषण समेत गरिन्छ । 

    भारतको सबैभन्दा ज्यादा जनघनत्व रहेको राज्यकारुपमा रहेको उत्तर प्रदेश राज्य नेपालको सीमावर्ती राज्यकारुपमा पनि चिनिन्छ ।  यसअघि देखि नै नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भन्ने विचारको पक्षमा उभिदै आएका योगी र पूर्वराजा ज्ञानेन्द्र शाहबीचको सम्बन्ध निकटको रहेको बताइदै आएको छ ।

    तसर्थ नेपालमा कम्युनिष्ट विचारधारामा आस्था राख्ने दलहरुको स्पष्ट बहुमत आइसकेको वर्तमान अवस्थामा उनीहरुबीचको यो भेटलाई कतिपयले राजनीतिक दृष्टिकोणबाट समेत आ–आफ्नै अर्थ दिन थालेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast