सोमबार, असोज ६, २०७६
    घुमघाम

    तिलिचो ताल

    सन् २०१८ नयाँ साल, जाने होइन त घुम्न मनाङको तिलिचो ताल ?

    आन्तरिक पर्यटनकको केन्द्र बन्दै विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल,गत एक वर्षमा मात्रै १५ हजार नेपाली पर्यटकहरुद्वारा भ्रमण

    मंगलवार, १८ पौष २०७४, नवीन लामिछाने, रासस/(आहाखबर).
    विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल

    मनाङ, पुस १८  । 

    विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । 

    बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन । 

    आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिना देखि मंसिर अन्तसम्म बढी उपयुुुुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने मनाङ जिल्ला पर्यटन विकास संघका अध्यक्ष विनोद गुरुङले बताए । 

    तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ । 

    कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ । 

    विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा देखिन्छ । 

    हिजोआज यस ताल घुम्नका लागि बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् । यस तालमा पुग्नका लागि दुईवटा सिजनमध्ये गत असोज कात्तिकमा मात्रै करिब १२ हजारदेखि १५ हजार नेपाली पर्यटकले तिलिचो तालको अवलोकन गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवा बताउँछन्  । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast