मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    एमालेबाट समानुपातिकमा को-को बन्दै छन् सांसद ? यहाँ पढ्नुस्

    प्रत्यक्षमा एमालेको जम्मा दुईजना महिला मात्रै, समानुपातिकबाट ३९ जना महिलालाई सांसद बनाउने निर्णय

    शुक्रबार, ७ पौष २०७४, आहाखबर

    काठमाडौं, पुस ७ ।

    देशकै सबैभन्दा ठूलो दल नेकपा एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ भने प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट आफ्नो पक्षमा पारिसकेको छ । तर प्रत्यक्षमा भने एमालेका तर्फबाट जम्मा दुईजना महिलाले मात्रै चुनाव जितेका छन् । 

    तसर्थ यतिबेला एमालेले समानुपातिकमा क–कसलाई सांसद बनाउला भन्ने विषयमा सर्वत्र सर्वत्र चासो छ । एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानूपातिकबाट सांसद बनाउँदैछ । एमालेले ३९ जना महिलालाई समानूपातिकबाट सांसद बनाउने निर्णय गरिसकेको छ । 


    एमालेबाट खस आर्य महिलामा राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्ने तयारी भएको स्रोतले जनाएको छ ।


    त्यस्तै, जनजाति महिलाबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ । एमालेले थममाया थापा मगर, डा.शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नवीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन् ।


    त्यसैगरी थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन् । गंगा चौधरी जो केही अघि नयाँ शक्ति पार्टीबाट एमालेमा प्रवेश गरेकी थिइन् ।
    एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने बताइएको छ । जसमा तुलसी पासी, निरादेवी जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिवा र आशाकुमारी बिकको नाम अग्रस्थानमा छ । 

    मधेसी महिलाबाट जुलीकुमारी महतो, डा.पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्ने चर्चा छ । जुली एमाले पोलिटब्यूरो सदस्य रघुवीर महासेठकी श्रीमती हुन् । मुस्लिम महिलाबाट कालिला खान र समिना हुसेन पनि सांसद बन्ने भएका हुन् । 

    यसअघि एमालेको समानुपातिक सूचीमा रहेका तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपाने र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, नेकपा एमालेका अईन्द्रसुन्दर नेम्वाङको नाम भने अहिले अट्न नसकेको श्रोतको दाबी छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast