बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    उपत्यकामा मेलम्चीको पानी छिट्टै

    मेलम्ची सुरुङको अम्बाथान–ग्याल्थुम खण्ड २ साताभित्रै 'ब्रेक–थ्रु' हुँदै

    बाँकी करिब सय मिटर सुरुङको पनि १२ दिनभित्र सक्ने लक्ष्य, चैतसम्म उपत्यकामा मेलम्चीको पानी ल्याउने तयारी

    मंगलवार, ४ पौष २०७४, आहाखबर

    काठमाडौं पौष ४ । 
    मेलम्ची खानेपानी आयोजनाको सुरुङ अन्तर्गत् अम्बाथान–ग्याल्थुम खण्ड दुई साताभित्र ब्रेक–थू्र हुने भएको छ । उक्त खण्डको बाँकी करिब सय मिटर सुरुङ अर्काे १२ दिनभित्र सक्ने गरी मेलम्ची आयोजनाले काम गरिरहेको छ ।

    आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक – थ्रु गर्न बाँकी रहनेछ । उक्त खण्डको लम्बाइ करिब पाँच सय १५ मिटर छ । आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।

    ‘अर्को खण्ड पनि जनवरीभित्रै ब्रेक थ्रु गर्ने योजनामा छौं,’ देवकोटाले भने, ‘त्यस खण्डमा नरम चट्टान भेटिएकाले केही समस्या छ । तर, समयमै काम सक्न हामी प्रतिवद्ध छौं ।’

    उनका अनुसार सुरुङ खन्दा नरम चट्टान भेटिए समस्या हुन्छ, बलियो चट्टान भेटिँदा काम सहज हुन्छ ।  दुवै खण्ड ब्रेक थू्र भएपछि सुरुङ खन्ने काम सकिनेछ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलव चार किमि सुरुङ ०७३ पुस मध्यमै छेडिएको थियो ।

    यस्तै खनिसकिएको सुरुङको प्लास्टर र फिनिसिङको काम पनि सँगै अगाडि बढाइएको छ । सात महिना अघिदेखि सुरुङभित्र प्लास्टरको काम गरिँदैछ । सुरुङको प्लास्टरका लागि भारतबाट आठ वटा मिक्स्चर मेसिन नेपाल आइसकेका छन् । तीमध्ये तीन वटा आयोजना स्थलमा पुगिसकेका छन् । अन्य पाँच वटा वीरगञ्जबाट काठमाडौं ल्याइँदैछ ।

    सुरुङ छेडेर प्लास्टर सकिएपछि सीधै मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याउने आयोजनाले तयारी गरेको छ । प्रशोधनपछि मात्रै यसलाई वितरण लाइनमा पठाइनेछ ।

    प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ । साढे आठ करोड लिटर क्षमताको उक्त प्लान्टमा वागमतीको पानी हालेर परीक्षण गरिएको छ । ‘जुन, सफल भएको छ । अब सुरुङबाट पानी ल्याउनासाथ वितरण सञ्जालमा पठाउन समस्या हुँदैन,’ देवकोटाले भने ।

    सुरुङ निर्माणको काम इटालीको कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले गरिरहेको छ । चाइना रेल्वेले सेप्टेम्बर २०१३ सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको थियो । तर, काम सुस्त भएपछि सन् २०१२ मा सम्झौता तोडिएको थियो ।

    त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ खनेको थियो । इटालीको कम्पनीले पनि भूकम्प र नाकाबन्दीको कारण समयमै काम गर्न सकेको थिएन । अब भने अन्तिम चरणमा पुगेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast