मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि सिल

    निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरियो

    मंगलवार, १९ मंसिर २०७४, आहाखबर
    फाइल फोटो

    विराटनगर, १९ मंसिर ।

    आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए । 

    नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा सीमानाका सिल गर्ने गरिन्छ । 

    इलाम:

    यसैगरी सोही निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ । सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि सीमा बन्द गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । 

    निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि सीमा नाका बन्द गरिएको उनले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ । 

    इलामका प्रमुख सीमा नाकाहरू पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ । 

    इनरुवा:

    यस्तै, दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट सुनसरीको नेपाल–भारत सीमा नाका पनि बन्द भएको छ । दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गते साझ ६ बजेसम्मका लागि जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

    उनका अनुसार त्यस अवधिभर जिल्लाका कोशी ब्यारेजदेखि केसलीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको हो । सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast